झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार सम्पन्न हुँदैछ । देशभर निर्वाचनलाई ब्यवस्थित गर्न सम्बन्धित सरोकारवाला लागि परेका छन् । झापामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा राखिएको बताए ।
जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले जानकारी दिए । जिल्लामा ८१५ वटा मतदान केन्द्र छन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा सात लाख १३ हजार ५३७ जना मतदाता छन् ।



















































