एजेन्सी । इरान पक्षधरहरुले अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । कराँची, लाहोर र इस्लामावादलगायतका शहरमा अमेरिका र इजरेलविरुद्ध प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरूले वाणिज्य दूतावासको परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा स्थिति तनावपूर्ण बनेको थियो । यसैबीच, पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको गिलगिटमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र संघको एउटा कार्यालयमा आगजनी गरेको संयुक्त राष्ट्र संघका एक अधिकारीले जानकारी दिएका छन् । उक्त क्षेत्रमा सयौँको संख्यामा मानिसहरू सडकमा उत्रिएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले कर्फ्यु लगाएको छ । इस्लामावाद लगायतका अन्य शहरहरूमा पनि शिया संगठनहरूले विरोध र्यालीको घोषणा गरेका छन् भने कराँचीको घटनाका बारेमा प्रहरीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।



















































