काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस धादिङ सडक खण्ड अन्तरगत त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ । जसमा बिदेशी नागरिकसहित ६ जना महिला र ११ जना पुरुष रहेको जनाएको छ । अन्य २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।