काठमाडौँ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीले आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकारलाई १०० खर्ब पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य घोषणापत्रमा समावेश गरेको हो । उसले देश समृद्धका लागि ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत रुपमा अघि सारिएको छ । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु उठाउने काम समयसीमा तोकेरै अघि बढाउने जनाएको छ । एमाले घोषणा पत्रमा भनेको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो ।’

घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ।  त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्‍याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै एमालेले राजनीतिक स्थिरताका लागि बहुमतको माग गरेको छ।