काठमाडौं । नेपालको सैनिक दिवस २०८२ को अवसरमा अमेरिकी सेनाले सैनिक मञ्च टुँडिखेलमा गरेको व्याण्ड प्रस्तुतिलाई लिएर विभिन्न टिकाटिप्पणी चलेका छन् । नेपाली सेनाले भने त्यसलाई स्वाभाविक, सामान्य र विगतदेखिकै प्रचलन भनेको छ । सेना दिवसका अवसरमा नेपाली सेनाले गरेको निमन्त्रणा स्वीकार गर्दै अमेरिका सहित भारत, पाकिस्तान, माल्दिभ्स र भूटानबाट सैनिक टोली आएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताए । ‘हामीले बोलाएर उहाँहरु आउनुभयो, उहाँहरुले बोलाउँदा हामी जान्छौँ, यो त भइरहने कुरा हो’, नेपाल प्रेसले सम्पर्क गर्दा उनले भने–`विगतदेखि नै नेपाली सेना दिवसको उपलक्ष्यमा भारत, बेलयात, अमेरिका लगायतका देशको टीम आएर पर्फमेन्स देखाउने प्रचालन छ । सोही अनुसार आजको सेना दिवसको उपलक्ष्यमा पर्फमेन्स देखाउनुभएको हो । यसअन्तर्गत भारत, पाकिस्तान, माल्दिभ्स र भूटानको टीम पनि छ । ‘मिलिट्री टु मिलिट्री’ कोअपरेशन अन्तर्गत सेना दिवसमा भाग लिने विश्वव्यापी प्रचलन हो ।’ हामीले पनि भारत, बेलायतका सेना दिवसमा गएका छौँ । हामीले निमन्त्रणा गर्दा आउने, हामीलाई निमन्त्रणा गर्दा जाने, यो चलिरहने कुरा हो । यसमा विभिन्न किसिमका प्रश्न नै हुँदैन ।
श्रोत: अनलाइन खवरबाट



















































