झापा । अदालतले बिर्तामोड नगरपालिका तत्कालीन मेयर ध्रुवकुमार शिवाकोटीलाई करणी आरोपबाट निर्दोष ठहर गरेको छ । जिल्ला अदालत झापाका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सरकारी वकिल कार्यालयले उठाएको आरोप–प्रमाणले पर्याप्त नदेखिएको भन्दै फैसला सुनाएको छ ।शिवाकोटी विरुद्ध २०८१ पुस १९ गते जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा नेपाल सरकार वादी रहेको थियो । अदालतले आन्तिम फैसला गर्दा अभियोजनका प्रमाण दावी पुग्ने अवस्थामा नरहेको टिप्पणी गर्दै शिवाकोटीलाई सफाइ दियो ।शिवाकोटीलाई १५ वर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । घटनामा इलाका प्रहरी कार्यालय अनारमनीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय झापाले अदालतमा मुद्दा दर्ता गराएको थियो । आरोप अनुसार सो बालिका एक घरमा घरेलु कामदारको रूपमा राखिएकी थिइन् ।



















































