झापा । झापामा पहिलो पटक जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न महिला प्रहरी आएकी छिन् । प्रतिनिधि सभाको चुनावी सरगम बढेको बेला प्रहरी उपरीक्षकको रुपमा महिला (एसपी) बसुन्धरा खड्काले मंगलबार पत्रकारसमक्ष प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराखिने बताएकी छन्। 
जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी खड्काले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना तयार गरिएको जानकारी दिइन्।  नेपाल भारत खुला सीमा नाका, तस्करी, लागूऔषध ओसारपसारलगायत संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ प्रहरी परिचालन गरिने उनको भनाई छ । निर्वाचनाको संघारमा जिल्लामा सुरक्षालाई अझ व्यवस्थित गर्न ११ सय प्रहरी परिचालन गरिएको उनको भनाई छ । साथै एक सयदेखि २ सय सुरक्षाकर्मी थप गरिने छ । उनले जिल्लाबाट लुटिएका १६ थान हतियारको खोजी तिब्र बनाएको जानकारी दिइन् । निर्वाचनअघि प्रहरी प्रमुखको सरुवा हुनु नियमित प्रकृया अन्तरगत भएकाले शंकाउपशंका नगर्न आग्रह गरिन् । 
शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न बर्दी लगाएका सुरक्षाकर्मी र बर्दीविनाका आम नागरिकको सहयोगले मात्रै सम्भव हुने उनको भनाई छ । सुरक्षा क्षेत्रले कानूनले निदृष्ट गरेका सबै सुरक्षाको कर्तव्य कसुर बाँकी नराख्ने प्रहरी प्रमुख खड्काको भनाई छ । उनले चुनाव अवधिभर जिल्लाका गाउँ–गाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिने र प्रत्येक गतिविधि सूक्ष्म ढंगले निगरानी गरिने बताइन् ।