मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यले अपाङ मैत्री सेवा स्वरोजगार संस्था मेचीनगर-१० ले सप्ताह पुराण महायज्ञको आयोजना गर्ने भएको छ । भवन अभावकै कारण कार्यालय  सञ्चालनमा समस्या बेहोर्दै आएको संस्थाले आर्थिक सहयोग जुटाउन पुराणको आयोजना गर्ने भएको हो । मंगलबार पत्रकार भेटघाट गरेर संस्था र आवद्ध भएका मेचीनगरभरीका ४५ जना फरक क्षमताका सदस्यहरुको हितका लागि भवन निर्माण योजना अघि सारेको जनाएको छ । भवन निर्माण गर्ने योजना सुनेर केही ब्यक्ती र संस्थाले सहयोग गर्ने बचनसमेत दिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले जानकारी दिए । आगामी फानुग ६ गतेदेखि १४ गते सम्म महायज्ञको आयोजना हुनेछ ।
उनका अनुसार मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले ६ लाख रुपैयाँ दिने वचन दिएका छन् । अन्य ब्यक्तीले पनि सहयोग गर्ने भनेपछी पुराणको आयोजना गर्ने भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । पुराणका लागि १२ लाख खर्च हुने र २५ लाख संकलन गर्ने अनुमान गरिएको छ । पण्डित देबिसुमि मानव प्रमुख कथा वाचक रहने छन् । कार्यक्रमको सञ्चालन बिष्णु प्रसाईंले गरेका थिए । ब्यवस्थित रुपमा सञ्चालन गर्न पुराण ब्यवस्थापन समिति निर्माण गरेर अघि बढ्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । संस्थाले आफ्ना सदस्यलाई एकीकृत गर्न अव्यवस्थित रुपमा सञ्चालनमा रहेको सामुदायिक सेवा केन्द्र लालपानीको एउटा कोठामा कार्यालय राखेको छ । उक्त कोठाबाट पनि संस्थाको कार्यालय हटाउन भनेपछी आफुहरु अन्यौलमा परेको अध्यक्ष बुढाथोकीको गुनासो थियो ।