झापा । नेकपा एमालेबाट पार्टी परित्याग गर्नेको लर्को लाग्न थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट सल्लाहकार एबम् बिश्वास पात्र डा.रामबाबु गिरीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।
एक पछि अर्का विश्वासका पात्रहरुले साथ छाड्न थालेपछि एमाले झापा क्षेत्र नम्बर ५ मा तरङ्ग शृजना भएको छ। डा. गिरीले निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेद्वार बालेन्द्र शाह (बालेन) लाई सघाउने घोषणा समेत गरेका छन् । गिरी झापास्थित बीएण्डसी मेडिकल कलेजका अध्यक्ष हुन् । डा. गिरीको झापा जिल्लामा उल्लेखनीय राजनीतिक तथा सामाजिक प्रभाव रहेको स्थानीयहरू बताउँछन्।
एमालेभित्र ओलीका निकट सल्लाहकार मानिने डा. गिरीले निर्वाचनको मुखमा पार्टी छाड्नु एमालेका लागि ठूलो राजनीतिक झट्का मानिएको छ। स्थानीय तहमा मात्रै होइन, झापामा माओवादी केन्द्र, राप्रपालगायत विभिन्न राजनीतिक दल, झापा उद्योग वाणिज्य संघ तथा उद्योगी–व्यापारी समुदायमा समेत डा. गिरीको बलियो पकड रहेको बताइन्छ।
परिवर्तनको पक्षमा रहेकोले एमालेबाट राजीनामा दिएको डा. गिरीले बताएका छन् । उनले अब देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने धारणा समेत राखे । हिजो मात्रै युवा संघ दकमका अध्यक्षले एमाले पार्टी परित्या गरेर बालेनलाई समर्थन गर्ने घोषणा गरेका थिए ।



















































