झापा । नेपाली कांग्रेसका झापा निर्वाचन क्षेत्र नं १ मा पाँच जनाको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको शनिबार बसेको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिएका छन्। बैठकले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरूको नाम सिफारिस गरेको हो । पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति विश्वप्रकाश शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेपछि पाँच जनाको नाम सिफारिस गरेको हो । गत महिना पार्टी क्षेत्रीय समितिले शर्माको एकल नाम उम्मेद्वारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति बुढाथोकीले स्पष्ट पारेका छन्।