सुरुङा । झापाको कन्काई माई मेलामा जाने क्रममा सवारी दुर्घटना हुँदा एकै परिवारका आमा छोराको मृत्यु भएको छ । घटनामा मृतकका बुबा र दाजुसहित ११ जना घाइते भएका छन् ।

आज बिहान कनकाई–३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ न. को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ न. को बस एक आपसमा  ठक्कर खाई दुर्घटना हुँदा भएको थियो । घटनामा पिकअप गाडीमा सवार भद्रपुर-८ बस्ने आफुद राजवंशीका ४० वर्षीया श्रीमति सुस्मा राजवंशी र डेढ वर्षका छोरा आरुति राजवंशीको मृत्यु भएको हो । घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याई पुर्‍याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहान ११ः३० बजे सुस्मा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । ती बालकका बुबा ४० वर्षीय आफुद राजवंशी पनि गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने दाहिने हात र दाहिने खुट्टा भाँचिएको छ । त्यस्तै मृतक बालकका दाजु १५ वर्षका आशिष राजवंशी पनि घाइते भएका छन् । उनको बायाँ हात र चिउडोमा चोट लागेको छ । घाइतेमध्ये तीनजनाको बीएण्डसी र ८ जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।