काठमाडौँ । नेपाली कांग्रेसमा जारी विवाद समाधानको सबै प्रयासहरू असफल भएका छन् । यससँगै पार्टीको विशेष महाधिवेशन निर्वाचनतर्फ मोडिएको छ । रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ ।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’ 
पोखरेलले मंगलवार बेलुकी नै विशेष महाधिवेशनस्थल मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो । विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बुधबार आज बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो । कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो । 
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा संस्थापन तर्फबाट निश्कर्षविहीन बनेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेद्वारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत नहुँदा बार्ता निश्कर्षविहिन बनेको हो ।