मेचीनगर । झापको मेचीनगरमा ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ सम्पन्न भएको छ । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेपछि ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ सम्पन्न भएको हो । प्रमुख अतिथि बुढाथोकीले राजबंशी समुदायले मेचीनगरमा आयोजना गरेको ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक रहेको बताएका छन् । आइतबार मेचीनगर–७ स्थित ईटाभट्टा चौकमा राजबंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ को प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले अन्धविश्वास, कुरुतीहरुलाई पन्छाउँदै धर्म, संस्कृति र आफ्नो परम्परालाई उजागर गर्नुपर्ने बताए ।
मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, नगरपालिकाका सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, राजबंशी समाज विकास समितिका झापा अध्यक्ष उत्तम राजबंशी, राजबंशी समाजका अग्रज एवम् नेकपा एमालेका युवा नेता असारू राजबंशी, आदिवासी जनजातिका मेचीनगर सचिव कृष्णबहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।एकदिवसीय भाक्का उत्सवमा ५ कुँईटल चामलको पिठो बनेको भक्का, सात केजी पिठ्ठ र सब्जीको तरकारी निःशुल्क वितरण गरिएको थियो । उत्सवमा भारत पश्चिम बंगालको सिलिगुडीका कान्तपुरी कल्चरल सोसाईटी अध्यक्ष अनुप राजबंशीको ७ जनाको टोली तथा स्थानीय कलाकारहरुको आफ्नै भाषामा नित्य, गीतहरु प्रस्तुत गाएर दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । राजबंशी समाज विकास समिति मेचीनगरका अध्यक्ष दिनेश राजबंशीले मेचीनगरमा पहिलो पटक भाक्का उत्सवको सुरुवात गरेको बताए ।
उनका अनुसार अब यसलाई निरन्तरता दिने छौं ।‘प्रथम भाक्का पिठ्ठ उत्सव’ का लागि राजबंशी समाज विकास समिति मेचीनगरलाई नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ । उक्त उत्सव आयोजना गर्न करिव ७ लाख खर्च अनुमान गरिएको छ । राजबंशी समाज विकास समिति मेचीनगरका अध्यक्ष दिनेश राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य फुलकुमारी राजबंशीले र सञ्चालन सदस्य जसना राजबंशीले गरेका थिए ।





















































