झापा । देशभर जाडो बढेको छ । पूर्वी क्षेत्रमा हिजोको तुलनामा झन् जाडो बढेको पाइन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५स्४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।
केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४।७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३।५ र मंगलबार बिहान ५.४५ बजे ३।४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।
मौसमविद ढकालका अनुसार यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २।२ डिग्री सेल्सियस हो । अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराईका क्षेत्रमा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको उनले जानकारी दिए ।
तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, यो अवस्था स्थिर नरही मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् ढकालको भनाइ छ । तराई मधेशका बासिन्दाले तपतप शीत चुहिने गरेकाले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । तर मौसम विज्ञान विभागले भने अहिलेको अवस्थालाई ‘शीतलहर’ नै भन्न नसकिने जनाएको छ ।



















































