झापा सशस्त्र प्रहरी बल, नेपालले २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा देशब्यापी मार्च शुरु गरेको छ । सशस्त्र प्रहरी र नेपालको झण्डा लिएर पुर्बी नाकाबाट देशब्यापी रुपमा मार्च टोली निस्किएको हो ।आइतबार बिहान काँकडभिट्टाको मेची पुलबाट एउटा टोली र पश्चिम कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रबाट अर्को टोलीले एकैसाथ औपचारिक रूपमा मार्च पास शुभारम्भ गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को ऐतिहासिक अवसरलाई स्मरणीय, प्रेरणादायी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले “पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम” को आयोजना गरेको जनाइएको छ ।

यस कार्यक्रमअन्तर्गत संगठनका दुई सशक्त टोलीहरू देशको पूर्वी तथा पश्चिमी सीमा क्षेत्रबाट राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी एकैसाथ मार्च प्रारम्भ गरिएको हो ।। पूर्वी सीमा झापाबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, चारआलीस्थित नेपाली सेनाका गणपति प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी प्रमुख राजन लिम्बू, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति तुलबहादुर भण्डारीलगायत स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी गेलालले राष्ट्रिय झण्डा र बाहिनिपति न्यौपानेले संगठनको झण्डा, झण्डा मार्च टोलीलाई हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए ।

३५ जना सशस्त्र प्रहरी कर्मचारीहरूको टोलीले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित काँकडभिट्टाबाट दक्षिण भद्रपुरतर्फ मार्च गर्दै विभिन्न सीमा बस्तीहरूमा संगठनको उपस्थिति, राष्ट्रप्रेम, राष्ट्रिय एकता र सीमा सुरक्षाप्रतिको प्रतिबद्धताको सशक्त सन्देश प्रवाह गर्दै झापाको गौरीगंजस्थित सीमा क्षेत्रबाट मोरङको टोलीलाई औपचारिक रूपमा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।उक्त झण्डा मार्च कार्यक्रमले सशस्त्र प्रहरी बल, नेपालको २५ बर्षको गौरवशाली इतिहास, त्याग, अनुशासन र सेवाभावलाई स्मरण गराउँदै राष्ट्र, जनता तथा सीमाको सुरक्षाप्रति संगठनको अटुट संकल्पलाई उजागर गर्ने विश्वास  राष्ट्रिय एकता, देशभक्ति तथा सुरक्षाप्रतिको साझा उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको शसस्त्र प्रहरी बल झापाका प्रमुखले जानकारी दिए ।