झापा । नेकपा एमालेले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नं. ५ को उम्मेद्वारको  सिफारिस गरेको छ ।पार्टीको शनिबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उनले यहीँ क्षेत्रबाट वि.सं. २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित हुँदै आएका छन् । अध्यक्ष ओली वि.सं. २०६० मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा पराजित र वि.सं. २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए ।यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने संसदीय चुनावका लागि प्रत्यक्षतर्फको उम्मेद्वार सिफारिस गरेको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बु, हिरा थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरेको छ  ।झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । झापा निर्वाचन क्षेत्र नं. १, २ र ३ को उम्मेद्वारको नाम आइतवारसम्ममा सिफारिस भइसक्ने उनले बताए । हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले सर्कुलर गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।