भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा सात यात्रु घाइते भएका छन् । दुर्घटनामा चालक दलका एक जनासहित घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाँडी र माटोमा भासिँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर रहेका थिए । जसमध्ये ललितपुर–४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अरु ६ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए ।



















































