बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश दुर्घटनाको मुखमा पुगेको दाबी गरेका छन् । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै लिङ्देनले उक्त दाबी गरेका हुन् ।उनले अहिलेको राजनीतिक व्यवस्था र नेतृत्वले मुलुक जोगाउन नसक्ने जिकिर गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले गत भदौ २३ र २४ गते घटेका घटनाले राज्य संयन्त्र कति असफल छ भन्ने स्पष्ट भएको उल्लेख गरे । सिंहदरबार, संसद् र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख अङ्गमा आगजनी हुँदा पनि सरकारलाई समयमै जानकारी नहुनु र जोगाउन नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो । प्रधानमन्त्रीसम्म आन्दोलनकारी ढोकासम्म आइपुग्दा पनि जानकारी राख्न नसक्ने अवस्थामा सरकार पुगेको भन्दै उनले भने-`यस्तो सरकारले जनतालाई कसरी सुरक्षा दिन सक्छ ।´
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले लामो समय देश चलाएको दाबी गरे पनि परिणाम निराशाजनक भएको लिङ्देनको भनाइ थियो । माओवादी नामै लिन नसक्ने अवस्थामा पुगेपछि नाम परिवर्तन गर्न बाध्य भएको टिप्पणी गर्दै उनले ठूला दलहरूले देशलाई सही दिशामा लैजान नसकेको आरोप लगाए ।
देश दुर्घटनामा जान सक्ने चेतावनी पहिले नै दिइएको भए पनि बेवास्ता गरिएको उल्लेख गर्दै अहिले आएर त्यसको परिणाम सबैले भोगिरहेको लिङ्देनले बताए । विदेशी शक्तिको प्रभाव बढ्दै गएको, मन्त्री र प्रधानमन्त्रीको सिफारिससमेत बाहिरबाट हुने अवस्था सिर्जना भएको आरोप लगाउँदै उनले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो समस्या ठहर गरे ।
भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार र अदालतजस्ता निकायसमेत राजनीतिक नियुक्तिका कारण निष्प्रभावी बनेको आरोप लगाउँदै उनले त्यसकै कारण चुनाव खर्चिलो, महँगो र सुशासन कमजोर बनेको बताए । राप्रपाले वैकल्पिक मार्ग प्रस्तुत गरेको उल्लेख गर्दै लिङ्देनले राजासहितको अभिभावकीय संस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी र स्थानीय तह पूर्ण रूपमा निर्दलीय हुनुपर्ने धारणा राखे । नेता मात्र होइन, अब व्यवस्था नै फेर्नुपर्ने उनको जोड थियो ।
पार्टीकी केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख खुस्वु, केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर तामाङ, पूर्व मन्त्री बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ, राप्रपा सह–महामन्त्री भारतेन्दु मल्लिक, राप्रपाका संसददिय दलका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा लगायतले सम्बोधन गरेका थिए ।
राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाको अध्यक्षतामा भएको जनजागरण सभामा राप्रपा  कोशी प्रदेश सभा सदस्य सविना बजगाई, राप्रपा केन्द्रीय प्रवक्ता भक्ति सिटौलालगायत नेता तथा उल्लेखीय कार्यकर्ताको सहभागीता रहेको थियो ।