बिराटनगर । कानुन बिपरित सञ्चालन गरेको प्रमाणका आधारमा प्रहरीले मोरङका दुई वटा क्यासिनोका सञ्चालकलाई पक्राउ गरेको छ ।

विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि प्रहरीले बिराटनगरका दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको हो । मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। 

लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापा मारेर नेपालीहरुलाई रंगेहात पक्राउ गरेको हो ।  क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो ।

राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रंगेहात नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ।

प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिए।