मेचीनगर । नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप- २०८२’ तयारी सुरु गरिएको छ ।

प्रेस क्लब मेचीनगर आगामी पुस २७ र २८ गते फुटबल प्रतियोगिताको तयारी सुरु गरेको हो ।

खेलकुदको माध्यमबाट दुई देशबीच भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखेर फुटबल प्रतियोगिताको आयोजना गरेको शुक्रबार आयोजित अन्तरक्रियामा जानकारी गराएको छ ।

प्रतियोगिता सञ्चालनको तयारीको बारेमा जानकारी गराउने अन्तरक्रिया गरेको हो । पहिलो चरणमा प्रतियोगिताको सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएकाले स्थानीय सरकार, संघसंस्था तथा उद्योगी व्यवसायीलाई आव्हान गरिएको थियो ।

प्रतियोगिताबाट विजेता हुने टिमलाई नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ वटा मिडिया टिमको सहभागिता रहने निश्चित भएको संयोजक घिमिरेले जानकारी दिएका थिए ।

खेल नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतले बताए । प्रतियोगिताका सम्पूर्ण खेलहरु फिफाको नियमअनुसार खेलाइने महासचिव बस्नेतले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य तथा मेचीनगर गोल्डकपका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा मेची भन्सार प्रमुख शिवलाल न्यौपाने, मेचीनगरका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशी, मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, रास्वपा मेचीनगर सभापति सन्तोष राजवंशी, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम राई, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, मेचीनगर प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य,  काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष रोहित बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, समाजसेवी डिल्लीराम घिमिरे, राजु पोखरेल, राजु पौडेल, दिपेश तिवारी, शिक्षासेवी सुवर्ण भट्टराई लगायतले मिडिया कप सफलताका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरे तथा सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।