मेचीनगर । विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनिकरणका लागि मेचीनगर नगरपालिकाको पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रमको तयारी थालेको छ । शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जालमार्फत विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रमको तयारीका बारेमा छलफल गरेको छ । पुस पहिलो हप्तादेखि सुरु हुने पहिलो चरणको लैङ्गिक हिंसा न्यूनिकरणको सचेतनामुलक कार्यक्रम नगरका दश वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गराइने भएको पुरुष संजाल मेचीनगरका अध्यक्ष मोहन काजीले जानकारी दिए । पहिलो चरणमा दश वटा माविमा मेचीनगर–१ को पवित्र मावि, वडा नम्बर २ को भानु मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ को अरनिको मावि, ८ नम्बर वडाको आदर्श मावि, ११ नम्बर वडाको बलभद्र मावि, १२ को सरस्वती बाल कल्याण मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि र वडा नम्बर १५ को ज्यामिरगढी मावि रहेका छन् ।
शारीरिक, यौन, मानसिक हानी वा पीडादायी कार्य, त्यस्ता कार्यहरु गर्ने, धम्की दिने, जवरजस्ती गर्ने, स्वतन्त्रताबाट बन्चित गर्ने लगायतका कार्य यसमा पर्दछन् ।
महिला र पुरुषको असमान शक्ति सम्बन्धको कारण अधिकांश महिला र किशोरीहरु पीडित हुने गर्छन् । यद्यपी पुरुष, किशोर र केटाहरु पनि लैङ्गिक हिंसाबाट प्रभावित हुने गर्दै आएका छन्।संविधानमा लैङ्गिक समानता वा समतामूलक कानुन तथा नीतिहरु बनेको छ । उक्त कानुनकोआ बारेमा जानकारी नहुँदा समाजमा हिंसा रोकिएको छैन् ।
सञ्जालले विद्यालयस्तरमा आफ्नो बुझाई, ज्ञान, सीप, सकारात्मक दृष्टिकोण, क्षमता अभिवृद्विलाई शिक्षक, विद्यार्थी र समुदायमा सक्रिय सहभागीसँगै सुरक्षित, समावेशी तथा लैङ्गिक उत्तरदायी बनाउने छ । विद्यालय प्रशासनसँग सहजीकरण गरेर विद्यार्थीहरुको गुनासो, यौन दुव्र्यवहार, अनैतिक कार्य, बलात्कार लगायतका लैङ्गिक हिंसाका घटनालाई सुष्म अध्ययन गरेर सञ्जालले हेर्ने छ । नगरको १५ जना र प्रत्येक वडाका २÷२ जना गरेर ४५ जना रहेका सञ्जालका संयोजक तथा सदस्यहरुसँग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी महिला सेवा प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले विद्यालयहरुमा बालबालिका, किशोर–किशोरीप्रति हुने हिंसा लगायतका विषयमा छलफल गरेका थिए । पहिलो चरणको सचेतनामूलक कार्यक्रम सकिएपछि थप अन्य सामुदायिक मावि र संस्थागत विद्यालयहरुमा पनि यस्ता प्रकारका कार्यक्रम गर्दै लाने नगरपालिकाको योजना रहेको छ । पुरुष सञ्जाल मेचीनगरका संयोजक मोहन काजीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।


















































