झापा । झापा जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।
बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए ।
गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।




















































