झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.३ दुई रिङगेमा धान झार्ने थ्रेसर मेसिनले ४५ वर्षीय कुलबहादुर थापाको हात छिनाएको छ । स्थानीय छबिलाल न्यौपानेको धान थ्रेसर मेसिनले झार्ने क्रममा मेसिनमा दाहिने हात च्यापिएर कुँहिना मुनिको भाग छिनेको प्रहरीले जनाएको छ । घाइते थापालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याइएको छ । हाल बोल्न सक्ने अवस्था रहेको र थ्रेसर मेसिन इप्रका बुधबारेको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
त्यस्तै धान झार्ने क्रममा थ्रेसर मेसिनमा हातको औंला पस्दा औंला काटिएर भद्रपुरका नारायण राजवंशी घाइते भएका छन् । आइतबार बिहान भद्रपुर नगरपालिका वडा न.६ मन्त्री चोक बस्ने ५० वर्षीय राजवंशीले धान थ्रेसर गर्ने क्रममा बायाँ हातको २ वटा औंला मेसिनमा पसेपछि काटिएको थियो ।
घाइतेलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा पुर्याएको छ । भद्रपुर ७ का सुनिल राजवंशीले सञ्चालनमा ल्याएको थ्रेसर मेसिनले औंला छिनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थ्रेसरमा च्यापिएर झापामा दुईजनाले ज्यान गुमाइसकेका छन् ।



















































