झापा । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) कोशी प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ । विराटनगरमा आयोजित पदस्थापन तथा प्रमाणपत्र वितरण समारोहमार्फत नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व चयन भएको हो । कोशी प्रदेश समितिको अध्यक्षमा सिए सुशील अग्रवाल निर्बिरोध चयन भएका छन्। सचिवमा गुल्सन शर्मा, कोषाध्यक्षमा श्रीप्रसाद निरौला, रुपा सिघान्ची र मनिष श्रेष्ठ प्रदेश समितिका सदस्यका रूपमा चयन भएका छन्।
यससँगै मोरङ जिल्लाको नेतृत्व पनि नयाँ टिमले सम्हालेको छ । मोरङ जिल्ला समितिको अध्यक्षमा सिए अश्विनी बंशल निर्विरोध भएका छन् । उपाध्यक्षमा अनन्त काफ्ले, सचिवमा रोशनकुमार यादव र कोषाध्यक्षमा युवराज उप्रेती चयन भएका छन् । सञ्जय बंशल, किन्जल पोखरेल, दिवाकर अग्रवाल र अन्कित राय मोरङका सदस्यका रूपमा रहेका छन्।
समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल, निवर्तमान कोशी प्रदेश समितिका अध्यक्ष तीर्थप्रसाद यादव लगायतले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा झापा र सुनसरी जिल्ला समितिमा निर्वाचित पदाधिकारीहरूमध्ये पनि प्रमाणपत्र वितरण गरिएको थियो। उद्योग–व्यापार क्षेत्रका प्रतिनिधिहरू—नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष सुभाष आचार्य—कार्यक्रममा उपस्थित थिए।
एक्यान झापा र सुनसरी समिति:
एक्यान झापा समितिमा पनि नयाँ नेतृत्व बनेको छ। अध्यक्षमा सिए अनिलकुमार प्रसाईँ, उपाध्यक्षमा सिए राहुल साहेवाला, सचिवमा सिए गंगाराम बस्नेत, कोषाध्यक्ष सिए प्रज्वल शर्मा अधिकारी रहेका छन् । सदस्यमा सिए अमित अग्रवाल, सिए विकास साहु, सिए आशिष् मुरारका, सिए डिम्पल अग्रवाल र सिए सुजन भट्टराई चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारीले आगामी कार्यकालमा पेसागत क्षमता अभिवृद्धि, सदस्य हित संरक्षण र प्रदेशभित्रका गतिविधिलाई थप सुदृढ गर्दै संघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




















































