मेचीनगर । झापा मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्कीले मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीमाथि गम्भीर आरोप लगाएका छन् । वडाध्यक्ष कार्कीले अधिकृत वस्तीले नगरपालिकालाई `चकनाचुर´ बनाएको भनी गम्भीर आरोप लगाएका हुन् । वडाध्यक्ष कार्कीले मंगलबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै अधिकृत वस्तीको सम्पत्ति शुद्धिकरण गर्न समेत माग गरेका छन् ।
उनले आफु निकटको एमाले पार्टी र नगरपालिका, सरकारसमक्ष सार्वजनिक रूपमै माग गरेका हुन् । स्टाटसमा लेखेका छन्, `मेचीनगर नगरपालिकालाई आजको यो अवस्थामा ल्याएर चकनाचुर पार्ने अनन्त वस्ती हो । यसको सम्पूर्ण ५४ सालदेखि अहिलेसम्मको सम्पत्ति शुद्धिकरण र गतिविधिलाई सार्वजनिक गर्न म मेरो पार्टी र सरकारसँग अनुरोध गर्छु। यस्तो भ्रष्टको पछि हामी हिँड्दैनौं। यसको हैसियत र यसको सम्पत्ति शुद्धिकरण होस्। म जनप्रतिनिधिको हैसियतले चुनौतीको साथ यो अनुरोध गर्न चाहन्छु।´
वडाध्यक्ष कार्कीको अभिव्यक्तिले मेचीनगर नगरपालिकाभित्र भ्रष्टचार ब्याप्त रहेको बुझिन्छ । यसअघि पनि वडाध्यक्ष कार्की लगायतका केही वडाध्यक्षहरुले मेचीनगरपालिकाको वेतिथि, कर्मचारीको ढिलासुस्ती लगायतका बिषयलाई लिएर प्रशासनिक सुधारका लागि आन्दोलित बनेका थिए । त्यस्तै करार कर्मचारी हटाउने गरी कार्यपालिकाले गरेको निर्णयप्रति मेचीनगरका १५ वटा वडामध्ये अधिकांंश वडाध्यक्षले आफुहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका थिए ।



















































