चारआली । भारतको सिलीगुढी-झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलनको सार्वजनिक सुनुवाइमा अधिकांशले गुनासो गरेका छन् । पेट्रोलियम पदार्थ भण्डारण तथा पेट्रोलियम पाइपलाइन विस्तारलाई सहज बनाउन स्थानीय सरकार, सरोकारवाला, दलका प्रमुखहरुसँग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले उक्त गुनासो गरेका हुन् ।
परियोजनाका परामर्शदाता रेडनट इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले सहजीकरण गरेको थियो । सर्वसाधारणलाई जानकारी नै नदिइ सार्वजनिक सुनुवाइ गरेको उनीहरुको गुनासो थियो ।  मानव स्वास्थ्य र सुरक्षाको ग्यारेन्टीको बिषयमा पनि तर्क अघि सार्ने उनिहरुको भनाई छ । त्यसमा पनि २ बिगाह जमिन विवाद अदालतमा बिचाराधिन अवस्थामा रहेको छ ।
सिलीगुढी-झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलन राष्ट्रिय गौरवको आयोजना हो । बिगत दुई वर्षदेखि पाइपलाईन निर्माणको क्रममा रहेको छ । झापाको मेचीनगर-१३ मा यसको कार्यालय रहेको छ । तर, सोही वडाका विभिन्न राजनीति दल, सरोकारवाला संस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागिता बिना नै सार्वजनिक सुनुवाइ गरेको भन्दै स्थानीयले गुनासो गरेका हुन् ।
पेट्रोलियम पदार्थ अखाद्य तथा उच्च प्रज्वलनशील भएकाले त्यसको भण्डारणपछि प्राविधिक, आर्थिक र वातावरणीय दृष्टिले मानव तथा प्राणीको स्वास्थ्यबर्धक नभएको स्थानीयको तर्क छ ।  विभिन्न जोखिम पनि उच्च भएको सम्बन्धित बिज्ञले पुस्टि गरेका छन् । पेट्रोलियम बाष्प निरन्तर सास फेर्दा टाउको दुख्ने, छालामा जलन, छालामा एलर्जी र श्वासप्रश्वास समस्या उत्पन्न हुने जानकारहरुले बताएका छन् ।
लामो समयसम्म पेट्रोलियम गन्ध र बाष्पमा रहँदा क्यान्सरको जोखिम, रक्तसंक्रमण र मस्तिष्कमा असर पर्नसक्ने सम्बन्धित बिज्ञले औंल्याएका छन् । त्यस्तै भण्डारण ट्यांकी वा पाइपलाइन चुहावटले माटो र भूगर्भीय पानी प्रदूषित बनाउँदै वातावरणीय असर पार्दछ । इन्धनको वाष्प हावामा मिसिएर वायुप्रदूषण र हरितगृह ग्यास वृद्धि गर्छ । आगलागी वा विस्फोटका घटनाले पर्यावरणीय क्षति र जैविक विविधता नोक्सान पुर्‍याउँछ। दीर्घकालीन असरस्वरूप खेतीयोग्य माटो अम्लीय बन्ने र उत्पादन क्षमता घट्नेसम्मको नोक्सान हुने बिज्ञको भनाई छ ।
मानव स्वास्थ्य, वातावरण, पर्यावरणमा समेत प्रत्यक्ष रुपमा असर    पुग्ने पेट्रोलियम पदार्थको भण्डारण र पाइपलाईन बिस्तारका लागि आह्वान गरेको सार्वजनिक सुनुवाइ स्थानीयले थाहा नपाउनु सबै चासोको बिषय बनेको मेचीनगर-१३ का  सर्वसाधारणको गुनासो छ ।
नेपाल आयल निगम लिमिटेडद्वारा प्रस्तावित सिलीगुढी–झापा चारआली पेट्रोलियम पाइपलाइन परियोजना अन्तरगत १४ दशमलव ६ किलोमिटर ग्रिन फिल्ड ट्रर्मिलन निर्माणको कामको प्रक्रियाहरु धमाधम कार्यालयले जनाएको छ ।
पाइपलाईन बिस्तारको बिषयमा थाहा नै नदिइ मेचीनगरको १५ वटा वडामध्ये ६ वटा वडामा पर्ने सर्वसाधारणको नाउँमा रहेको जमिनमुनि उक्त पेट्रोलियम पाइपलाइन विस्तार गरिँदै आएको छ  । सर्वसाधारणले न पाइप लाईन बिस्तारको बारेमा थाहा पाए न सार्वजनिक सुनुवाइको बारेमा ।
मेचीनगरको वडा नम्बर ६, ७, ८, १०, १३ र १४ मा पाइपलाईन बिस्तार गरिने कार्यालयले जनाएको छ । उक्त  परियोजनाका लागि भारत सरकारले सातसय करोड भारु अनुदान दिएको छ । ग्रिन फिल्ड ट्रर्मिलनका लागि मेचीनगर-१३ चारआलीदेखि १ किलोमिटर दक्षिणमा २३ विघा तीन कठ्ठा १३ धुर जग्गा सुरक्षित राखिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, ७ नम्बर वडाका वडाध्यक्ष प्रलादमणि ओली, मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष नविन कोइराला लगायतले पेट्रोलियम पाइपलाइनले आफ्नो क्षेत्रमा पार्ने असर र फाइदाका विषयमा निगमको ध्यानाकर्षण गराएका थिए ।
यता चारआलीमा आयोजित कार्यक्रममा १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बा, स्थानीय समाजसेवी सरद शिवाकोटी, श्री मरासिनी लगायतले स्वास्थ्य, शिक्षा, सुरक्षा र अदालतमा विचारधिन रहेको विवादित दुई विघा जग्गाका विषयमा पनि कुरा उठाएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा निगमका तर्फबाट नायव कार्यकारी निर्देशक दीपक बरालसहित कार्यक्रममा परियोजनाका संयोजक सुरेन्द्र महतो रहेका थिए ।