बिर्तामोड । खोलामा करेन्ट लगाएर माछा मार्दा झापामा दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लगाएर माछा मार्ने क्रममा बिर्तामोड-६ का आनन्द  चौधरीको मृत्यु भएको  छ भने गौरादह-६ स्थित रामचन्द्रे खोलामा आरतिनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाको मृत्यु भएको हो ।बिर्तामोड-७ मियाबारीस्थित रेखामा करेन्ट लगाएर गएराति स्थानीय  ५२ वर्षीय आनन्द चौधरीसँग सोही ठाउँ बस्ने ४८ वर्षीय पुरन चौधरी, बस्ने ३२ वर्षीय श्याम चौधरीले माछा मार्न पुगेका थिए । माछा मार्ने क्रममा आनन्दलाई करेन्ट लागेको थियो । उपचारका लागि लाने क्रममा आनन्दको मृत्यु भएपछि पुरन र श्यामले खोला किनारमा शव छोडेका थिए । करेन्ट लगाएर माछा मार्ने क्रममा आनन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले पुष्टि गरे ।उनले घटनास्थलबाट करेन्ट लगाएर माछा मार्ने तार बरामद भएको जानकारी दिए । करेन्ट लगाएर माछा मार्दै आएका आनन्दको सहयोगीका रुपमा पुरन र श्याम गएको बताइएको छ ।  तर, उपचारका लागि लैजान नपाउँदै आनन्दको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा पुरन र श्यामलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।ताजपुरियाले करेन्ट लगाएर माछा मार्दा आफैलाई करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।