दमक । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार फेला परेको छ । जेनजी आन्दोलनको क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड आगजानीपछि हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा दुई वटा हतियार फेला परेको हो ।
विषेश सूचनाको आधारमा मंसिर २ गते अन्दाजी दिनको १ः३० बजेको समयमा दमक नगरपालिका–६ बाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ बुद्धिमान फियाक (लिम्बु) को छोरा अन्दाजी २२ बर्षीय सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनले हतियारहरु पाँचथरको मिक्लाजुङ–३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाईछिपाई राखेको बताएका थिए ।
उनको भनाई अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरेर उक्त हतियार तथा गोली फेला पारेको हो ।उक्त व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडि बढाइने जनाएको छ ।
प्रहरीले सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको ३०३ मार्क ३ राईफल एक थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास एक थान, ईन्सासको जंगी राउण्ड एक थान, र एसएलआरको जंगी राउण्ड ३ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















































