सुरुङा । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पार्टीको कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग गरेको खुलेको छ । एमाले पार्टीको कार्यक्रममा नगरपालिकाले उपलब्ध गराएको सवारी प्रयोग गरेर सरकारी नियमको चरम दुरुपयोग गरेको आरोप लागेको छ । मंगलबार बिहान नेकपा एमाले शिवसताक्षी–११ ले आयोजना गरेको शोक सभामा उपप्रमुख कार्की नगरपालिका कार्यालयको नाममा दर्ता रहेको मे १ झ १३१ नम्बरको रातो सरकारी गाडी चढेर उपस्थित भएकी थिइन्। सो कार्यक्रममा नगरप्रमुख स्वयं सहभागी भए पनि उनी निजी स्कुटीमा आएका थिए। अन्य जनप्रतिनिधिहरू पनि निजी सवारी प्रयोग गरी कार्यक्रम पुगेका थिए। यसले उपप्रमुखले मात्र सरकारी गाडी प्रयोग गर्नुको औचित्य झनै प्रश्नगत बनेको स्थानीयको भनाइ छ।



















































