झापा। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा मंगलबार राति भीषण आगलागी हुँदा चार घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करोड २० लाख बढीको क्षति भएको छ । राति साढे ११ बजेबाट सुरु भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा बुधबार बिहान ५ः३० बजे मात्र नियन्त्रणमा आएको हो । 
स्थानीय इन्द्रकुमार लिम्बूको एक तले घर जलेर पुर्ण रुपमा क्षति हुँदा ४३ लाख ८८ हजार बराबरको क्षति भएको छ । तेम्बा बजारका इन्द्रकुमार लिम्बूको ढुङ्गा–माटो, काठको बेरा र जस्ताको छानाको ३ तले घर जलेर खरानी भएको छ । घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात तथा घरायसी सामान, सुन २ तोला, नगद २ लाख, किराना पसलका सामग्री, त्यसबाहेक सोही घरमा कोठा भाडामा बस्दै आएका दोर्ची शेर्पाको अलैंची २५ मन, कुखुरा १० वटा जलेर नष्ट भएको छ ।
राजकुमार लिम्बू ५० लाख ८८ हजार बराबरको क्षति भएको छ । उनको ३ तले घर पूर्णरूपमा जलेर ध्वस्त भएको छ । घरभित्र रहेका अन्नपात, भाडाकुँडा, लत्ताकपडा, सुन ४ तोला, चाँदी १५ तोला, नगद २ लाख , किराना सामान, कुखुरा १२ वटा, यसबाहेक घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नं. पल्सर मोटरसाइकल जलेर नष्ट भएको छ ।
अनिल लिम्बूको २० लाख ८८ हजार बराबरको ३ तले घर पूर्णरूपमा जलेको छ । आगलागीका कारण नष्ट भएका सामग्रीहरु अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन २ तोला, चाँदी १ तोला, नगद ३ लाख , किराना सामान, कुखुरा २२ वटा जलेर नष्ट भएका छन् । 
बिष्णुप्रसाद लिम्बूको  करिब ५ लाख ८८ हजार बराबरको क्षति भएको छ । ढुङ्गा–माटो र काठको बेरा भएको १ तले घर पूर्णरूपमा जलेको छ । प्रहरी श्रोतका अनुसार आगलागीका कारण अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, नगद १ लाख , किराना सामान जलेको छ । त्यस्तै घरअगाडि पार्किङ भएका दुई गाडीमा क्षति पुगेको छ । मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीको बाहिरी भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 
आगलागीको कारण खुलेको छैन। यद्यपि, क्षतिको परिमाण भने ठूलो रहेको स्थानीय प्रशासनले जनाएको छ । आगलागीका कारण मानवीय क्षति नभएपनि चार परिवारको करोडौ रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गण ताप्लेजुङको टोली तैनाथ भएको थियो । मध्य मेवा खोला जलविद्युत आयोजना ९७३।५ मेगावाट० सुरक्षा पोष्टका सहायक सेनानी टेकबहादुर साउद, नफ्री प्रहरी चौकी साँवाबाट प्रहरी नायव निरीक्षक ख्यामबहादुर श्रेष्ठसहितको ३ सदस्यीय टोलीघटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दाले बाल्टिन, पाइप र पानीका स्रोत प्रयोग गर्दै सक्रिय रूपमा सहयोग गरेपछि आगो नियन्त्रणमा लिन सहज भएको सैनिक स्रोतले बताएको छ । आगलागीका कारण चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।