धुलाबारी । नेपाल वीमा प्राधिकरणले मध्यवर्ती तथा वन्यजन्तु आक्रमण केन्द्रीत वीमालेख तयारीका लागि मेचीनगरमा पहल सुरू गरेको छ । मेचीनगरको अधिकांश क्षेत्रमा हात्तीले मानवीय र अन्नबालीमा पुर्याउँदै आएको क्षति न्यूनिकरण गर्ने उद्देश्यले वीमालेख तयारीका लागि सम्बन्धित सरोकारवालासमक्ष सोमबार छलफल गरेको हो । मेचीनगर नगरपालिकाको समन्वय, डिभिजन वन कार्यालय झापाको सहकार्य तथा नगरक्षेत्रभित्रका सरोकावाला संघसंस्थाका प्रतिनिधित्वमा वीमालेख तयारी गर्नुको उद्देश्यका विषयमा सहजीकरण गरेका गरिएको छ ।

विगतदेखि नै पूर्वी नेपालको मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी मानवीय, धनजन, किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । वीमालेखमा उक्त धनजनको क्षतिका विषय उल्लेख नहुँदा पीडित सार्वसाधारणले उपयुक्त वीमाङ्क रकम वा राहत प्राप्त गर्न नसकाले वीमालेख अनिवार्य भएको नेपाल वीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जानकारी दिए ।
उनले वीमा गरिँदा त्यसको ऐन नियमका विषय, सार्वजनिक खरिद ऐन, कृषि अन्नवाली, पशु तथा धनमालको सुरक्षण क्षतिको विषयमा वीमालेखमा उल्लेख गर्नुपर्ने भएकाले घनिभूत छलफल सुरू गरेको जानकारी दिए। जंगली हात्तीको आक्रमणपछि अंगभंग वा मृत्यु भएका, ठूलोसाना धनमाल वा अन्नबालीको क्षति ऐन नियममै उल्लेख हुनेगरी वीमालेख तयार गरिनुपर्ने उनको भनाई थियो । सरकारी कार्यालय वीमा नभएका कारण ठूलो क्षति भएको तर, निजी क्षेत्रले वीमा गरेकै कारण पूननिर्माणको तयारी थालेको समेत निर्देशक अधिकारीले जानकारी दिए ।
सरकारी कार्यालयमा रहेका करिव १२ सय सवारी साधानको वीमा नगरेकै कारण पूर्ण रूपमा क्षति सहनुपरेको उल्लेख गरेका थिए ।
सरकारी कार्यालयमा रहेका करिव १२ सय सवारी साधानको वीमा नगरेकै कारण पूर्ण रूपमा क्षति सहनुपरेको उल्लेख गरेका थिए ।कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले झापा देशकै सबैभन्दा धेरै जंगली हात्तीले क्षति पुर्याउने जिल्लाको रूपमा रहेको बताए । उनले मेचीनगर अन्य नगरभन्दा बढी हात्ती प्रभावित क्षेत्र भएकाले यहाँको समस्या स्थानीय तहले संकलन गरेर वीमा प्राधिकरणसमक्ष समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरभित्र वन्यजन्तु हात्तीको आक्रमणपछि धनजनको क्षति, सरकारबाट प्रदान गरिँदै आएको क्षतिपूर्ति र पीडित सर्वसाधारणले गर्दै आएको गुनासोका विषयमा जानकारी गराएका थिए । नगरभित्रका सम्बन्धित संघसंस्थासँग थप छलफल गर्ने र वीमा प्राधिकरणसँग समन्वय गरेर अघि बढ्ने जानकारी गराएका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेतीले वीमाको नीति समावेश गरेर छलफल अघि बढाउन आग्रह गरेकी थिइन् । उनले वीमा गरेका वीमितले समयमै विमाङ्क रकम पाउन नसकेको जनाउँदै जेनजी आन्दोलनपछि क्षतिको भोगाई र वीमा नगर्दाको पछुतो उल्लेख गरेकी थिइन् । वीमा गर्दा कसरी अघि बढ्ने सकिन्छ भन्ने विषयमा घनिभूत रूपमा छलफल गरिने उपमेयर उप्रेतीको जोड थियो ।
कार्यक्रममा वन्यजन्तु राष्ट्रिय निकुञ्ज विभागका विज्ञ बिक्रम राना, मेचीनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्ष जानुका ओली, मानव हात्ती द्वन्द्व न्यूनीकरण तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, सुपारी खेती विकास संस्थाका निलकण्ठ तिवारी, हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल, थोप्लेविराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण कोइराला, मेचीनगर वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, ४ का वडाध्यक्ष अर्जुन कार्की, १ का वडाध्यक्ष रामकुमार राईलगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाल वीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय वीमा प्राधिकरणका विनोदकुमार पोखेलले गरेका थिए ।























































