झापा । विगठित प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले देशको पहिलो आवश्यकता संसद पुनर्स्थापना नै रहेको बताएका छन् ।  
झापाको बिर्तामोडस्थित आफ्नै निवासमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संसद पुनर्स्थापना नै वैधानिक बाटो भएकाले त्यो पहिलो आवश्यकता रहेको बताएका हुन् ।
विघटनपछि सिर्जित राजनीतिक अनिश्चितताबाट निस्किन संसद पुनर्स्थापना नै एकमात्र संवैधानिक विकल्प भएको उनको भनाई थियो । संसद विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गरे।
सभामुख घिमिरेले संविधानको दायराबाहिर गएर प्रतिनिधिसभा विघटन गरिएको भन्दै देशलाई अनिश्चितताको खाडलमा धकेलिएको आरोप लगाए। उनले भने, “संविधानले नचिनेको व्यक्तिबाट मुलुक चलाउन खोजियो भने राज्य थप समस्यामा जान्छ।”
सभामुख घिमिरेले प्रधानमन्त्री नियुक्ति प्रक्रियामै संवैधानिक प्रश्न उठेको दाबी गरे। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशलाई अन्य संवैधानिक पदमा नियुक्त गर्न नपाइने स्पष्ट प्रावधान उल्लङ्घन भएको आरोप उनले लगाए।
उनका अनुसार वर्तमान मन्त्रिमण्डलका केही सदस्यहरूको नियुक्ति पनि संवैधानिक मान्यताको कठघरामा छ। हालको सरकारले आफूलाई कामचलाउ, निर्वाचन वा अन्तरिम सरकारका रूपमा प्रस्तुत गरिरहे पनि संविधानमा यस्ता कुनै संरचना नसमेटिएको सभामुखले स्पष्ट गरे।
उनले भने, “संविधानबाहिरका पद र सरकारबाट मुलुक चलाउन मिल्दैन। अहिलेको पहिलो आवश्यकता संसद पुनर्स्थापना नै हो। यही वैधानिक बाटो हो।”