जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या प्रकरणमा संलग्न आरोपमा प्रहरी जवान शम्भु यादवलाई प्रहरीले पक्राउ गरेको छ। भोज खाने विषयमा भएको सामान्य विवाद झडपमा प्रहरी जवान यादवले वडाध्यक्षमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए।

घटनामा केही व्यक्ति घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष यादवलाई गोली लागेको अवस्थामा अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो। शव अस्पतालमै राखिएको छ।

गोली प्रहार गर्ने प्रहरी जवान शम्भु यादव धनुषा प्रहरीले कार्यरत रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बमले बताए ।