मेचीनगर । जेनजी आन्दोलनलाई उक्साएको र पार्टीको नीति विपरित काम गर्ने दुई पत्रकारसहित पाँच जनालाई एमाले मेचीनगरले निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले मेचीनगर कमिटिको विहीवार धुलाबारीमा सम्पन्न छैटौं पूर्ण वैठकले पार्टीको विधान र नियम विपरित गएर जेनजी आन्दोलन गतिविधिमा सहभागी भएका र ३ जना र पत्रकार समेत रहेका भातृ संगठन प्रेस चौतारी नेपालका दुई जनालाई निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गरेको हो ।
नगर अध्यक्ष राजु कार्कीले पार्टीका सदस्य सूर्य कन्दवा (सुरेन्द्र) र किशोर भट्टराईलाई (वडासदस्य) निस्काशन गरिएको जानकारी दिए ।
कार्कीले बालकृष्ण थापालाई ६ महिनाका लागि निलम्बन, पत्रकारसमेत रहेका सन्तोष आचार्यलाई कारवाहीका लागि जिल्लालाई सिफारिस गरिएको बताए । थापा २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेचीनगर–६ को वडाध्यक्षका उम्मेदवार रहेका थिए ।
आचार्य चौतारीका पूर्व केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज, पार्टीको केन्द्रीय खानेपानी तथा सरसफाइ विभाग सदस्य हुन् । यसैगरी पार्टीको संगठित सदस्य नरहेका शिशिर चम्लागाईलाई प्रेस चौतारी झापालाई कारवाहीका लागि सिफारिस गरिएको उनको भनाई छ । चम्लागाई चौतारी कोशी प्रदेशका सदस्य हुन् ।
निस्काशनमा पर्ने कन्दवा राष्ट्रिय युवा संघ नेपाल मेचीनगरका पूर्व उपाध्यक्ष हुन् । यस्तै भट्टराई मेचीनगर–३ का निर्वाचित वडा सदस्य हुन् । भट्टराईले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा सदस्यबाट सामाजिक सञ्जालमा स्वघोषणा राजीनामा दिएका थिए ।
पार्टीको साधारण सदस्य समेत नरहेको निर्वाचन कार्यालयलाई जानकारी गराइने बताइएको छ । मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न पूर्ण विस्तारित बैठकको अध्यक्षता नगर अध्यक्ष राजु कार्कीले तथा प्रमुख अतिथिका रूपमा पार्टीका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल रहेका थिए । वैठकमा पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला, नगर, क्षेत्र, वडा कमिटीका प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



















































