मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर तथा क्षेत्रीय समितिले नगरपालिकाले कर्मचारी पुनर्बहाली गरेकोप्रति असहमति जनाएको छ ।पुनर्बहाली गरेको विषयप्रति गम्भीर असहमति जनाउँदै रास्वपाले  नगरपालिकामा बुधबार चार बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । पुनर्बहाली भएका कर्मचारीहरूको पद, तह, संख्या, कारण र कानुनी आधार सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ । 
संघीय सरकारको परिपत्रका आधारमा गत २०८२ कार्तिक १ गतेदेखि मेचीनगर नगरपालिकाले हटाएका १३८ जना करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूलाई मिति २०८२ कार्तिक १७ गते पुनर्बहाली गरेको विषय कानुन बिपरित भएको ठहर गरेको छ ।
सरकारले पठाएको परिपत्रको उल्लंघन गरेकोप्रति ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।
हाम्रो पार्टी विधि, पारदर्शिता र सुशासनमा आधारित स्थानीय शासनको पक्षमा दृढ छ । कर्मचारी नियुक्ति वा निष्कासन दुवै प्रक्रिया कानुन तथा नियमावलीअनुसार हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान भएको पाटीका मेचीनगर अध्यक्ष सन्तोष राजवंशीद्वारा जारी गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
कर्मचारीमा देखिएको समस्या स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको कानुनी प्रावधान विपरीत गरिएका एकलौटी निर्णयहरूको परिणाम भएको उल्लेख छ ।
विगतका आवेदन फाराम र दस्तूर सम्बन्धी अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र रिक्त पदहरूमा योग्यता, अनुभव र प्रतिस्पर्धामार्फत पारदर्शी नियुक्ति सुनिश्चित गर्नुपर्ने माग समेत गरेको छ । ज्ञापान पत्र बुझाउन क्षेत्रीय संयोजक अशिम दाहालको नेतृत्वमा क्षेत्र तथा नगरको टोली मेचीनगर पुगेको थियो ।