झापा । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ। कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखि २३ महिनाभित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो।
चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल उक्त खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे। ‘यस्तो लापरवाही गर्नु हुुँदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ। अस्पतालमा म्याद भएको भ्याक्सीन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीलको गल्ती भएको उनको जिकिर छ।’
जपनिज इन्सेफ्लाइटिसको भ्याक्सीनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ। भ्याक्सीनको म्याद सकिएको चार दिनपछि दिन लागेको भन्दै यसले बालबालिकाहरु गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष नवराज देबकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषी कर्मचारीलाई कारवाही गरिने उनले बताए।
चन्द्रपुर, बृन्दावन, गरुडा र गुजरा नगरपालिकाभित्रका बालबालिकाहरु खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए। उनका अनुसार प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सीनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको म्याद नाघेको भ्याक्सीनको विषय गम्भीर रहेको उनको भनाइ छ । यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले बताए।



















































