मेचीनगर । करारका कर्मचारी निश्कासनपछि चौतर्फी दबाब बढेपछि झापाको मेचीनगरमा आज बसेको कार्यपालिकाको बैठकले सबै कर्मचारीलाई पुर्नवहाली गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै मेचीनगर नगरपालिका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई हटाउने गरेको निर्णयबाट पछि हटेको छ । संघीय सरकारको परिपत्र कार्यन्वयन गर्ने भन्दै असोज २९ गतेको कार्यपालिका बैठकले कम्तिमा १ सय ३८ जना करार,अस्थायी र ज्यालादारी कर्मचारीलाई  निष्कासन गरेको थियो । 
नगरपालिकाले बैकल्पिक आधार नबाई १३८ जना कर्मचारीलाई एकैचोटि निश्काशन गरेपछि १५ वटा वडाको कार्यसम्पादन प्रभावित भएको थियो । वडाको कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षहरुले नै नेतृत्वको निर्णयको बिरोध गर्दै आएका थिए ।
वडाध्यक्षहरुले बिरोध जनाएपछि मेचीनगरका तीन राजनीति दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै कर्मचारीको बैकल्पिक ब्यवस्था नगरी एक्कसी गरेको निर्णयले वडा र नगरबाट प्रदान गर्ने सेवा प्रभावित भएको भन्दै तत्काल पुनर्बहालीको माग गरेको थियो ।
त्यसपछि निश्कासनमा परेका कर्मचारीले पनि पुनर्बहालीको माग राख्दै नगरपालिकाको गेट अघि धर्ना दिइँदै आएका थिए । करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई हटाउने गरी गरेको निर्णय उल्टिएको छ । चौतर्फी चर्को दबाब थाम्न नसकेपछि मेचीनगरका मेयर गोपाल बुढाथोकी प्रदेश सरकारसमक्ष पुगेका थिए ।
नगरपालिकामा बसेको कार्यपालिकाको बैठककले सम्पुर्ण निष्कासन गरिएका कर्मचारीलाई स्थायी पदपुर्तिको ब्यवस्था नभईन्जलका लागि तत्काल काममा पठाउने गरी निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । स्थायी कर्मचारी पदपुर्तीपछि  ज्यालादारी कर्मचारीहरुको स्वत बर्हिगमन हुने प्रमुख अधिकारीको भनाई छ  ।