चारआली । झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको वन परिषरमाभित्र आगजनी गरिएको अवस्थामा फेला परेको कारका धनी शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्मा हालसम्म अज्ञात रहेका छन्।
उनले चलाएको सवारी साधान बिहीबार जंगलभित्र आगो लाग्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । आगो लागेर पूर्णरुपमा क्षति भएको बाग्मती प्रदेश ०१–०३० च ७१९४ नम्बरको कार शर्माकै भएको परिवारसँग पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
कार आगलागी भएको घटनास्थल वरपर हेर्दा चप्पल फेला परेको थियो । उक्त चप्पल शर्माले नै प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए । उनको कार डाइभरले चलाएको थियो की शर्मा आफैले चलाएका थिए भन्ने अस्पष्ट भएको छ ।
निरन्तर वर्षाका कारण अनुसन्धानमा थप समस्या आएको उनको भनाई छ । उनका अनुसार सीसी टिभीको आधारमा बुधबारेबाट फर्केको देखिन्छ तर हालसम्म मान्छे अज्ञात नै हुँदा धेरै कुराको आशंका पैदा भएको छ पुष्टी भएको छैन । शर्मा न परिवारसँग सम्पर्क छन्, न हामीसँग । लामो समयसम्म अज्ञात हुनु र सवारीमा आगजनी गरी क्षति गरिनुले पनि व्यक्तिमा ठूलै विचलन आएको बुभिन्छ, सूचना अधिकारी डिएसपी खड्काले भने अनुसन्धानलाई तीव्र पारिएको छ ।
पाँचदिन अघि सोमबारको छठ पूजाको तयारी गर्न गत आइतबार अपरान्ह ४ बजे कार सरसफाई गरेर आइहाल्छु भनेर शर्मा घरबाट निस्किएका थिए ।
कार सरसफाई भयो कि भएन थाहा भएन । फोन अफ गरेर शर्मा राती अबेरसम्म नफकिएपछि परिवारले छिमेकी, आफन्त र साथिभाईलाई खवर गर्दै प्रहरीलाई निवेदन दिएका थिए ।
प्रहरीलाई खवर गरेको चार दिनमा कार वनभित्र आगलागी भएको खवर पाएको उनकी दिदीले जानकारी दिइन् । हाल परिवारले आफन्त, साथीभाईकहाँ खोजतलास गरिरहेका छन् । पाँचदिनसम्म पनि सम्पर्कमा नआएका ३३ वर्षका शर्मा पढाइ सकेर मामाले सञ्चालनमा ल्याएको काठमाण्डौंस्थित आइटी कम्पनीमा सिक्दै काम गर्दै आएका थिए । उनी तिहार मनाउन घर आएको पारिवारिक श्रोतले जनाएको छ ।



















































