झापा । चक्रवात ‘मोन्था’ का कारण  नेपालमा करिब १६ घण्टादेखि निरन्तर वर्षा हुदैछ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले मौसमी प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही समय वर्षा हुने र मौसममा क्रमिक रूपमा सुधार हुने देखिएको महाशाखाले जनाएको छ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया देखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।