चारआली । अध्यावधिक बिना नै सञ्चालन हुँदै आएको झापाको मेचीनगर-१३ स्थित मनकामना अस्पताललाई कारवाहीको प्रकृया अघि बढाउने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मानवको स्वास्थ्योपचार जस्तो संवेदनशील क्षेत्र अस्पताल सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा आएको मनकामना अस्पतालले विगत लामो समयदेखि अस्पतालको कागजपत्र अध्यावधिक नगरी गैरकानुनी ढंगले सञ्चालन गर्दै आएको पाइएको छ । स्वास्थ्य कार्यालय झापा र मेचीनगर स्वास्थ्य शाखाले अनुगमनका क्रममा अस्पतालपरिषरमा देखिने ठाउँमा कागपत्र राखेको नपाएपछि गत असोज ३० गते २४ घण्टे अल्टिमेटम दिएको थियो ।
अल्टिमेटम दिएको केहिदिनपछि अस्पतालका सञ्चालक डाक्टर दिलिपकुमार यादवको पत्नी कुसुम यादवले दर्तासहितको कागजपत्र मेचीनगरको स्वास्थ्य शाखामा बुझाएको थियो ।
दर्ताको प्रमाणपत्र रहेपनि लामो समयदेखि उक्त कागजपत्रको अध्यावधिक भने गरेको नपाइएको मेचीनगरका आर्थिक प्रशासन शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।
अस्पताल मानवको स्वास्थ्योपचारको संवेदनशील क्षेत्र हो। प्रत्येक अस्पतालले वार्षिक रूपमा लेखा परीक्षणसहित अध्यावधिक गर्नुपर्ने कानुनी प्रकृया रहेको छ । कानुनी प्रकृयालाई उल्लङ्घन गर्दै अबैध रूपमा अस्पताल सञ्चालन गर्दै आएको पाइएपछि जिल्लास्थित स्वास्थ्य कार्यालय झापामा अध्यावधिक गरेको रिपोर्ट बुझाउन आदेश गरेको प्रमुख कार्कीले बताए । उक्त अस्पतालले लामो समयदेखि अध्यावधिकका लागि कुनैपनि प्रक्रिया पूरा गरेको नपाइएकोले स्वास्थ्य कार्यालय झापाबाट रेकर्ड ल्याउन आदेश गरेको प्रमुख कार्कीले जानकारी दिए ।
अध्यावधिक गरेको प्रमाणपत्र नै नभेटिएकाले अल्टिमेटल दिएका थियौं। हालसम्म कुनैपनि कागजपत्र आएको छैन, जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठले भने, स्थानीय तह सञ्चालन ऐन तथा कार्यविधि आएपछि मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले नै अनुगमन र कारवाही गर्ने अधिकार पाएको छ ।
सम्बन्धित अस्पतालले कार्यालयमा उपस्थित भएर समन्वय नगरे नेपाल सरकारले निर्दिष्ट गरेको आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौं ।'
अस्पतालको वार्षिक प्रतिवेदनसहित दर्ता नविकरण नगरेको पाइएमा पहिलो चरणमा स्वास्थ्य शाखाले लिखित पत्र पठाउँछ । पहिलो पटक पठाएको पत्रलाई अटेर गरेको पाइएमा दोश्रो पटक ३० हजारसम्मको जरीवाना गर्छ । माथिका दुवै प्रक्रियामाथि अटेर गरेको पाइएमा कानुनीरूपमै सञ्चालन गर्न नपाउने गरी दर्ता प्रमाणपत्र खारेजी हुने सूचना अधिकारी श्रेष्ठको भनाई छ ।