झापा । झापाका जलाशयमा छठ पर्व श्रद्धा र निष्ठाका साथ सम्पन्न भएको छ । सोमबार साँझ अस्ताउँदो र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको छ ।
सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको मधेसी समाज समिति धुलाबारीका सचिव जितेन्द्र शाहले जानकारी दिए । उनका अनुसार निन्दा नदी छठ ब्यवस्थापन समितिले झन्डै ३ सय पुजा स्थलमा पुजा आरधना गरिएको छ ।
छठ पर्वको लागि नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनारहरू वेहुली झैं सिँगारिएको छ । जिल्लाका मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी नतथा खोला किनारहरू टेण्डले तयार पारिएका पुजास्थलमा श्रदालु फुलको मालाले झकिझकाउ बनाइएको थियो । पुजास्थलमा राखिएका एकैकिसिमका फलफूलहरु नरिवल, केरा, उखु, विभिन्न परिकारमा तयार पारिएको प्रसादले उत्कृष्ट बनाइएको थियो ।
व्रतालुहरूले विभिन्न विधिहरू पूरा गरे, जसमा खरना र सूर्यलाई अर्घ्य दिने कार्यहरू थिए । छठ पर्व निर्धनताबाट मुक्ति, स्वास्थ्यलाभ र मानव जातिको उत्थानका लागि मनाइन्छ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।



















































