झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ । आज कार्तिक शुक्ल षष्ठी पनि हो ।
छठ पर्वको लागि नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनारहरू सिँगारिएको छ । जिल्लाका मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी नतथा खोला किनारहरू नयाँ बेहुलीझैँ सिँगारिएको छ ।
बर्तालुहरुले बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । मंगलबार बिहान सूर्य उदयलाई पानी दिँदै समापन हुनेछ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । झापाका दुई दर्जन ठाउँमा सामूहिक छठ पूजाको आयोजना गरिएको छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।



















































