बिर्तामोड । उपचारको क्रममा बिरामीको अवस्था गम्भीर भएपछी आक्रमक बनेका बिरामीका आफन्तले बिर्तामोडको बीएण्डसी अस्पतालमा घेरेका छन् ।
बीएण्डसी अस्पतालस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा भद्रपुर –७ बस्ने बर्ष ४४ का दशरथ तामाङ क्यान्सर सम्बन्धी बिरामी भई भर्ना भएका थिए । उपचारका क्रममा हिजो शल्यक्रिया गरेपश्चात् बिरामीको अवस्था गम्भीर भई भेन्टिलेटरमा राखिएको थियो । आज शुक्रबार ७ बजेतिर चिकित्सकको लापरबाहीले बिरामीको अवस्था गम्भीर भएको भन्दै बिरामीका आफन्तहरु करिब ३० जना अस्पताल परिसरमा भेला भई विवाद गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिएको छ । हाल अस्पताल प्रशासन र पीडित पक्षबीच अस्पताल परिसरमा वार्ता भइरहेको र हालको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।