झापा । नेपालीहरूको दोश्रो महान् पर्व दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झापाका सीमावर्ती नाकाबाट तस्करीले सेटिङमै बारूदजन्य ( विस्फोटक पदार्थ) पटाका भित्र्याउन सक्रिय भएको पाइएको छ ।
नेपालको पूर्व सीमावर्ती क्षेत्रबाट अवैध रूपमा लाखौं मूल्यका पटाका नियमन गर्ने अधिकार पाएका प्रहरीकै सेटिङमा भित्र्याउने गरेको पाइएको हो । नेपाल सरकारले भित्र्याउन र विक्री गर्न पूर्ण प्रतिबन्धित गरेका बारूदजन्य पटाका तस्करी गर्ने समूह सक्रिय हुँदा देशका विभिन्न ठाउँमा त्यसको खुलेआम व्यापार बढेको छ ।
भारतीय बजारबाट अवैध रूपमा भित्रिने प्रतिबन्धित बारूदजन्य वस्तुको नेपाली बजारमा खुलेआम व्यापार हुँदा नियामक निकायको प्रभाव भने पाइएको छैन। कतिपय व्यापारीले दीपावलीको यमपञ्चक नै नलागी बजारमा पटाका बिक्रीका लागि राखेका छन्। खुल्ला सीमाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिने पटाकाको खुलेआम व्यापार मौलाउँदा समेत नियामक स्थानीय तह तथा सीमा क्षेत्रमा तैनाथ सुरक्षकर्मीले पटाका बरामद गर्ने र मान्छे छोड्ने गरेका छन् ।
सरकारले प्रतिबन्धित गरेको बारूदजन्य पटाका बजारमा बिक्री वितरणमा रोक लगाउन असफल भएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले खुल्ला सीमाका कारण पटाकारहित मेचीनगर बनाउन नसकिएको बताए। बजार नियमन गर्ने निकाय स्थानीय तह भएपनि कारवाही गर्ने अधिकार नभएकाले नियन्त्रण गर्न नसकिएको प्रमुख बुढाथोकीको भनाई छ ।
सीमा सुरक्षामा तैनाथ बनेका सशस्त्र प्रहरीले विभिन्न चेक पोइन्टबाट तस्करी नियन्त्रणको प्रयास गरे पनि तस्करी भने रोकिएको छैन। भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिएको झापाको खुल्ला नाकाबाट ठुलो परिणाममा पटका नेपाल भित्रिदै काठमाडौंसम्म तस्करी हुने गरेको छ ।
यसै क्रममा झापाको काँकरभिट्टा क्षेत्रमा पर्ने नाकाबाट भित्र्याइएको चार लाख मूल्य बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी काँकरभिट्टाका डिएसपी रामचन्द्र थापाले जानकारी दिए। साइकल, मोटरसाइकल, सीटी सफारी, चारचक्के सवारीमा पटाका भित्रिने गरेको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय भापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित तुर्कनीबाट अन्दाजी एक लाख बराबरको विस्फोटक पदार्थ बरामद गरेको थियो ।
यस्तै, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले हल्दीबारी गाउँपालिका-५ स्थित डाँगागाउँबाट दुई बोरा जगमग पटकासहित मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरीका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
मे १ प ३७१३ नम्बरको मोटरसाइकलमा हालेर बिर्तामोडतर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पटका बरामद गरेको डिएसपी भण्डारीले बताए। बरामद गरिएको पटकाको नेपाली बजार मूल्य एक लाख रहेको छ । पटकालाई बिहीबार बिहान सशस्त्र प्रहरी बल २ नम्बर गण झापामै सबै सरोकारावाला निकायको रोहबरमा नष्ट गरिएको उनले बताए । यता, बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइने उनको भनाई छ। तिहार र छठ पर्वलाई लक्षित गरी बारूद जन्य पटका तस्करीको माध्यमबाट भित्राउने योजना रहेकोले यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिसकेको उनले बताए ।




















































