चारआली । स्वास्थ्य कार्यालय झापाले मेचीनगर-१३ चारआलीमा सञ्चालित मनकामना अस्पताललाई २४ घण्टे अल्टिमेटम दिएको छ । अनुगमन अनलाइनमा 'मेचीनगरको मनकामना अस्पताल अवैध रूपमा सञ्चालन' शीर्षकमा बुधबार समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशित भएसँगै स्वास्थ्य कार्यालय झापा र मेचीनगरको स्वास्थ्य शाखाले बिहीबार आकस्मिक अनुगमन गरेको छ । त्यसक्रममा अस्पतालले कागजात दुरूस्त राखेको नपाएपछि २४ घण्टे अल्टिमेटम दिइएको हो । अनुगमनका क्रममा अस्पताल दर्ता र नविकरणको प्रमाणपत्र नै नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठले जानकारी दिए। 'कागजात दुरूस्त राखिएको नपाइएकाले अस्पताल अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइयो' सूचना अधिकारी श्रेष्ठले भने- 'हामीले २४ घण्टाभित्र कागजातसहित कार्यालयमा उपस्थिति हुन भनेका छौं। उक्त दिनसम्म दर्ता र नविकरणको प्रमाणपत्रसहित कार्यालयमा उपस्थित नभए नेपाल सरकारले निर्दिष्ट गरेको कानुनी प्रक्रिया अघि बढाउनेछौं ।' उनका अनुसार दर्ता गरेपछि सम्पर्कमा नआएको र पटक-पटक जानकारी गराउँदासमेत चासो नदिएकाले अल्टिमेटम दिइएको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको उपचार सेवाका लागि सञ्चालनमा आएका अस्पतालको वार्षिक प्रतिवेदनसहित दर्ता नविकरण गरेको हुनुपर्ने व्यवस्था छ । त्यसमा पनि नेपाल सरकारको स्थानीय तह नियमावलीले स्थानीय तहमा दर्ता गरेको हुनुपर्ने व्यवस्था रहेको छ । मनकामना अस्पताल मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखामा दर्ता नगरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यता अस्पतालका सञ्चालक डाक्टर दिलिपकुमार यादव समस्यामा परेकाले प्रमाणपत्र भएपनि तत्काल अनुगमन टोलीलाई देखाउन नसकिएको सञ्चालककी श्रीमती डाक्टर कुसुम यादवले जानकारी दिइन्।
अनुगमनमा स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीको टिम, मेचीनगरका आर्थिक प्रशासन प्रमुख दिपेन्द्र कार्की र स्वास्थ्य शाखाका प्रमुखसहित स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।




















































