मेचीनगर । झापा मेचीनगर-१३ चारआलीको मनकामना अस्पताल प्रालि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
अस्पतालका सञ्चालक डाक्टर दिलिपकुमार यादवले अस्पताल सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरेका थिए। दर्ता गरेको एक वर्षपछि रिपोर्टसहित नविकरण गर्नुपर्ने नियम छ । त्यसमा पनि स्थानीय तहमा दर्ता तथा वार्षिक नविकरण समेत हुनुपर्ने आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ मा उल्लेख छ । तर, अस्पताल सञ्चालन मापदण्डलाई उल्लङ्घन गर्दै स्थानीय तह मेचीनगरको स्वास्थ्य शाखामा समेत दर्ता नगरी सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । दर्तापछि पाँच वर्षयता नविकरण गर्न नआएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य सेवासँग सम्बन्धित अस्पताल दर्ता र नविकरण नै नगरी सञ्चालन गरेको पुष्टी भएमा दर्ता खारेजीसहित जरिवानासम्मको कारवाही हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
डाक्टर यादव अस्पतालको मेसमा कार्यरत २७ वर्षीया कर्मचारीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परी हिरासतमा छन् । प्रहरीले सोमबार चार दिनको म्याद थप गरेको छ। यादवले करणी गरेको आरोप मुद्दालाई कमजोर बनाउन पीडित युवतीलाई दबाब र प्रभाब दिएर बयान फेर्न लगाइएको पाइएको छ। पीडित युवतीको स्वास्थ्य परीक्षण गर्न भन्दै प्रहरीले अस्पताल पुऱ्याएको थियो । अस्पतालमा परीक्षणपछि विभिन्न प्रलोभन देखाएर पीडित युवतीलाई रातारात बयान फेर्न लगाइएको श्रोतको दावी छ । बयान फेरेपछि त्यसको रेकर्ड प्रहरीले पनि राखेको स्रोतको भनाई छ । आइतबार राती युवतीले बयान फेरेपछि सोमबार बिहान उनलाई बिराटनगरस्थित घरमा पठाइएको श्रोतले बताएको डाक्टर यादवकी श्रीमतीको पहलमा ती युवतीलाई प्रलोभनमा पारी बयान फेर्न दवाव दिएको श्रोतले बताएको छ । डाक्टर यादवकी श्रीमती सरकारी अस्पतालमा कार्यरत छिन् । उनले आफू रहेको राजनीतिक दलको आडमा बयान फेर्न दबाब दिएको पाइएको छ। घटना मिलाउन चारआलीका स्थानीय केही राजनीतिक दलका कार्यकर्ता लागेका थिए ।
कार्यकर्ताको पहलमा ठुलै टिम लागेको र पीडितलाई बयान फेर्न दबाब दिएको श्रोतको दाबी छ । माइत बस्दै आएकी ती युवतीको स्वास्थ्य परीक्षण गर्ने विषयमा आफुहरूलाई समेत प्रहरीले जानकारी नदिएको माइती पक्षको गुनासो छ। यो घटनालाई ढाकछोप गर्ने शैलीले अघि बढेको उनीहरूको भनाई छ।
डाक्टर यादव चारआलीस्थित आशाबादी बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष र ऋण समितिका सदस्य पनि हुन् । कार्यसमितिका उपाध्यक्ष गम्भीर घटनामा मुछिए पनि उनलाई अहिलेसम्म निलम्बन गरिएको छैन । यस विषयमा संस्थाले निर्णय लिने सहकारी संस्थाका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।















































