काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी घटना जाँचबुझ आयोगले काठमाडौँ प्रहरीमै फिर्ता पठाएको छ। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले उक्त जाहेरी आफ्नो कार्यक्षेत्र भित्र नपर्ने जनाउँदै प्रहरीलाई नै फिर्ता पठाएको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगलाई भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश मात्रै भएकाले जाहेरी फिर्ता गरिएको बताए। 

फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आयोगको कार्यक्षेत्रभित्र नपरेको समेत जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि जेनजीहरूबाट जिल्ला प्रहरी परिसर काठमाडौँमा आएको जाहेरी दर्ता नै नगरी प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो।