झापा । भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ । भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै विक्री गर्दा सचेत गराएको हो ।

बिभागद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ । सो उत्पादक तथा त्यसका उत्पादनहरु विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ ।’

यस्ता घटनाहरु विगतमा पनि भइसकेकोले त्यसप्रति विभाग पहिले नै सचेत रहेको जानकारी दिएको छ ।

साथै विभागले नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्दा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ । ‘नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल-ग्लिसरोल ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै मितिसहित सूचना प्रकाशित गरिएको थियो ।

यस पश्चात गत साउन २१ गते विश्व स्वास्थ्य संगठन बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन भनी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।

विभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको छ ।