इलाम । बाढी पहिरोले जलविद्युत आयोजनहरूमा क्षति गरेपछि इलामसहित पूर्वका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । असोज १८ र १९ गते परेको अविरल वर्षापछि इलामका १३ वटा जलविद्युत आयोजनाको १०५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । विद्युत् बन्द भएसँगै जनेरेटर इलाम बजार नै अँध्यारो भएको छ । विद्युत् नहुँदा सञ्चार सम्पर्कबाट समेत वञ्चित हुनुपरेको  स्थानीयले बताउँदै आएका छन् । यसैबिच इलामको बिब्लाटे बजार शान्तिचोकमा एक होटेलमा स्थानीय जनप्रतिनिधिहरूले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएका छन् ।

इलाम नगरपालिका वडा नम्बर–५ ले मोबाइल तथा टर्च लाइट निःशुल्क चार्ज गर्ने व्यवस्था मिलाएको हो  । स्थानीय बिनायो होटेलमा चार्जको व्यवस्था गरेको रेडियो नेपालबाणी ९४.९ मेगाहर्जले जनाएको छ । उक्त होटेलमा चार्ज गर्न समय बिहान १० देखि १२ बजेसम्म, दिनमा २ देखि ४ बजे र साँझ ६ देखि ८ बजे सम्म मोवाइल तथा टर्चलाईट चार्ज गर्ने व्यवस्था मिलाइएको बुझिएको छ ।