इलाम । दुई दिनदेखि परेको अविरल वर्षाका कारण इलाममा पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ । घरलाई पहिरोले थिचेपछी धेरैको घटनास्थलमै र कसैको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् । त्यसमध्ये इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
कोशी प्रदेशमा बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन्।
बाढी पहिरोले ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् र इलाममा सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्या देखिएको छ। तीन प्रदेशमा जनजीवन अत्यधिक प्रभावित छ । वर्षा त करिब रोकिइसकेको छ । रातको समयमा पहिरो गएकाले इलाममा धेरै क्षति भएको छ । सुतेको बेलामा पहिरोले पुर्दा उनीहरुको समयमै उद्दार हुन नसकेको कोइरालाले जनाएको छ ।
तर अझै बाढी र पहिरोको जोखिम टरेको छैन । अन्यत्र भौतिक क्षतिको मात्र बढी भएपनि इलाममा भौतिकसहित मानवीय क्षति अध्यधिक भयो ।
पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङमी रहेका छन्।
यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्।
यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ।
पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ।
पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् ।
यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ।
यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उहाँको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए । सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ । सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ ।
घाइते थप उपचारका लागि आइतबार दिउँसो सेनाको हेलिकप्टरबाट अस्पताल लगिएको छ ।
कोशी प्रदेशमा मात्र ४९ को मृत्यु
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
१७ जना घाइते भएका छन् । देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।
प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।
बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुरुषको शव फेला परेको छ ।
बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन्।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् ।
मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।





















































